कांग्रेस विशेष महाधिवेशनका लागि प्रतिनिधि नाम दर्ता सुरु

170 Shares

काठमाडौँ । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ ।

बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी गरिए पनि केही ढिलाइपछि प्रक्रिया प्रारम्भ गरिएको हो । महाधिवेशन स्थल भृकुटीमण्डपको मूल गेटसँगै रहेका स्टलहरूबाट नाम दर्ता भइरहेको छ ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार नाम दर्ताका लागि परिचय खुल्ने कागजात र एकप्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ । नाम दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको उहाँले जानकारी दिनुभयो ।

हाल कार्यक्रमस्थलमा पुगेका महाधिवेशन प्रतिनिधिहरू नाम दर्ता गरी परिचयपत्र (कार्ड) लिने क्रममा रहेका छन् । विशेष महाधिवेशनको उद्घाटन नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति कृष्ण सबुज बानियाँको सभापतित्वमा गर्ने तय भएको छ ।

आज उद्घाटन सत्रपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रको सभापतित्व भने पार्टीका जेष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेका थिए । सोही मागअनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । यद्यपि संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।

विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने जनाइएको छ । महाधिवेशनको औपचारिक उद्घाटन आज मध्याह्न १२ बजे गर्ने तयारी छ । यसअघि काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकालिने नेपाली कांग्रेसले जनाएको छ ।