काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनिकरणका लागि सबै पक्षले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभएको छ।
शनिबार ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले सडक दुर्घटनाका कारण वर्षेनी दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको भन्दै चालक, पैदल यात्री र अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो।
उहाँका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाका कारण २ हजार ३ सय ६९ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०८१–०८२ मा यो संख्या बढेर २ हजार ५ सय ४६ पुगेको छ। दुर्घटना न्युनिकरणका लागि प्रतिबद्धता जनाइए पनि तथ्यांकले वर्षेनी दुर्घटना बढ्दै गएको देखाएको उहाँले उल्लेख गर्नुभयो।
उपप्रमुख डंगोलले भन्नुभयो,
“सडक दुर्घटना न्युनिकरण हामी सबैको साझा जिम्मेवारी हो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले ट्राफिक नियमको पालना गर्नुपर्छ। हामी दुर्घटना घटाउने कुरा गरिरहेका छौँ तर तथ्यांकले भने बढिरहेको देखाउँछ। यदि सबैले जिम्मेवारी लिन सके दुर्घटना न्युनिकरण सम्भव हुन्छ।”
उहाँले विशेषगरी टिप्पर चालकहरूद्वारा लापरवाहीपूर्वक सवारी साधन सञ्चालन हुने गरेको भन्दै यसप्रति सम्बन्धित निकायले कडाइ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया