काठमाडौं । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देश जारी गर्दै आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेका संकटले गहिरो चिन्ता दिएको बताएका छन्।
उनले हिजो देश नबनेको चिन्ता रहेकामा आज भने देश नै नबच्ने हो कि भन्ने निराशा उत्पन्न भएको उल्लेख गरेका छन्।
पूर्वराजा शाहले भाषण, जादू र चमत्कारले देश नबन्ने भन्दै मुलुक निर्माणका लागि जिम्मेवारीबोध र साझा प्रयास आवश्यक रहेको बताए। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा रहेको राजसंस्थाले जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने उनको भनाइ छ। उनले सबै नेपालीलाई कर्तव्यबोध गर्दै ‘पृथ्वीपथ’मा लाग्न आह्वान गरे।
सन्देशमा उनले झण्डै दुई दशकअघि शान्ति, स्थायित्व र आर्थिक प्रगतिको आश्वासनसहित सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाएर सहयोगी भूमिकामा राजकाजबाट बाहिरिएको स्मरण गराए।
पूर्वराजा शाहले पृथ्वीनारायण शाहको योगदानको प्रशंसा गर्दै आधुनिक नेपालको एकीकरणपछि देशलाई चार वर्ण ३६ जातको साझा फूलबारीका रूपमा चित्रण गरिएको उल्लेख गरे। नेपाल राजा मात्र होइन, जनता र राजाको समान स्वामित्वको देश भएको सन्देश त्यसैबेला दिइएको भन्दै अहिले पनि राष्ट्रिय एकता, स्थायित्व र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
फेसबुकबाट तपाईको प्रतिक्रिया