पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

175 Shares

काठमाडौं । पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ। उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा दाहालको बाटोमै निधन भएको हो।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिएका दाहालले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि उल्लेखनीय योगदान दिएका थिए। पञ्चायतकालको कठोर निरंकुश शासनका बेला समेत अन्यायविरुद्ध सत्यको पक्षमा कलम चलाएका दाहाल साहित्यकारसमेत थिए।

पञ्चायतकालमा ‘राष्ट्रपुकार साप्ताहिक’ मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उनी पटक–पटक पक्राउ परेका थिए भने करिब तीन वर्ष जेल जीवन पनि बिताएका थिए। उनले गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक भएर समेत सेवा दिएका थिए।

दाहाल २०४९ देखि २०५१ सम्म नेपाल पत्रकार महासंघको सभापति रहेका थिए। साथै उनले प्रेस काउन्सिल नेपालका सदस्य भएर पनि काम गरेका थिए।

राजनीतिक रूपमा उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजकको जिम्मेवारीमा सक्रिय थिए। उनी २०६१ सालमा कृषि तथा सहकारी मन्त्री बनेका थिए।