काठमाडौं । नेपालमा पछिल्लो समय तापक्रम निरन्तर घट्दो क्रममा रहेकामा आज काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो यो वर्षकै सबैभन्दा कम तापक्रम हो।
मौसमविद् विनु महर्जनका अनुसार पुस लागेपछि देशभर तापक्रम क्रमशः घटिरहेको छ र केही दिनसम्म चिसो अझै बढ्ने सम्भावना रहेको छ। उनले यस समयमा चिसोबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरिन्।
यसअघि पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री, पुस १५ गते ४.८ डिग्री र पुस १७ गते ४.६ डिग्री रेकर्ड भएको थियो। पुस १९ गते ४.५ डिग्रीमा झरेको तापक्रम पुस २३ र २४ गते ३ डिग्री पुगेको थियो भने आज थप घटेर २.४ डिग्रीमा झरेको हो।
देशका अन्य जिल्लामा पनि चिसो बढ्दो छ। आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ७.७ डिग्री रेकर्ड गरिएको छ, जहाँ बिहीबार माइनस ८.१ डिग्रीसम्म झरेको थियो। जोमसोममा माइनस ५ डिग्री, दोलखाको जिरीमा माइनस २.१ डिग्री तापक्रम रहेको छ।
यस्तै डडेलधुरामा १.५, दिपायलमा १.४, वीरेन्द्रनगरमा २.५, ताप्लेजुङमा ३.९ र लुम्लेमा ३.६ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम विभागका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको छ।
आज साँझ जारी बुलेटिनअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम प्रायः सफा रहनेछ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ भने अन्य तराई क्षेत्रमा पनि केही स्थानमा हुस्सु देखिन सक्ने विभागले जनाएको छ।
हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा जनजीवन, पर्यटन, स्वास्थ्य, हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने दैनिक अद्यावधिक सूचना लिन विभागले अनुरोध गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया