काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने जानकारी दिएकी हुन्। पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थनपछि दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको उनले उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु।’
जेन–जेड पुस्ताका युवाले उठाएका आवाज, मुद्दा र परिवर्तनको चाहनालाई सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व गर्नुपर्ने आवश्यकतालाई सम्मान गर्दै आफूले यो निर्णय लिएको तामाङको भनाइ छ।
‘यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानप्रतिको प्रतिबद्धताबाट प्रेरित छ,’ उनले भनेकी छन्, ‘युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि म दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु।’
युवा पुस्ताको भावना, जनसरोकारका मुद्दा, सडकदेखि सदनसम्मको आवाज र भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ आफ्नो प्रमुख अठोट भएको उनले स्पष्ट पारेकी छन्।
चलचित्र क्षेत्रबाट उदाएकी तामाङ पछिल्लो केही वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छन्। उनले स्थापना गरेको फाउण्डेशनमार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएकी छन्। भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनका क्रममा शहीद र घाइतेलाई दाताहरूको सहयोगमा सहायता समेत गरेकी थिइन्।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकताअघि तामाङलाई समानुपातिक उम्मेदवारका रूपमा प्रस्ताव गरे पनि उनले प्रत्यक्ष निर्वाचनबाटै उम्मेदवारी दिने अडान लिएकी थिइन्।
सक्रिय राजनीतिमा आउने विषयमा सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा ९२ प्रतिशतभन्दा बढीले प्रत्यक्ष निर्वाचन लड्न सुझाव दिएको तामाङको दाबी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया