प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनाद्वारा ८० हजार जनशक्ति परिचालन हुने

170 Shares

काठमाडाैं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार पारिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार निर्वाचनको करिब एक महिनाअघिदेखि नै सेनाको फौज फिल्डमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो।

सेनाको परिचालनसम्बन्धी निर्णय राष्ट्रिय सुरक्षा परिषद्बाट समेत स्वीकृत भइसकेको छ। निर्वाचनका क्रममा नेपाली सेनाले तीन चरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्नेछ। निर्वाचनपूर्व मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा सेनाको प्रमुख जिम्मेवारी रहनेछ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय तथा सहकार्यमा महत्वपूर्ण संरचनाको सुरक्षा व्यवस्था मिलाइने सेनाले जनाएको छ। साथै चारवटै सुरक्षा निकाय, जिल्ला प्रशासन र स्थानीय तहसँगको सहकार्यमा निर्वाचनसम्बन्धी एकीकृत तालिम तथा अभ्यास तल्लो तहसम्म सञ्चालन गरिनेछ। यसले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुग्ने विश्वास सेनाको छ।

मतदानका दिन नेपाली सेना तेस्रो सुरक्षा घेरामा रहनेछ। यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति प्रदान गरिने प्रवक्ता बस्नेतले बताउनुभयो।

विगतका निर्वाचनमा जस्तै यसपटक पनि देशका विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरिने तयारी भइरहेको सेनाले जनाएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि नेपाली सेनाले नै बहन गर्नेछ।

निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठीहरू सञ्चालन भइरहेका छन्। ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन र विश्लेषण गर्दै सरकारले आवश्यक थप सुरक्षा व्यवस्था मिलाउने बताइएको छ।

सबै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा जनप्रतिनिधिबीचको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा राज्यको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नेपाली सेनाले आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ।