सेना परिचालन: प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सैनिक तयारी

169 Shares

काठमाडाैं। नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार सैनिक परिचालन गर्ने तयारी गरेको छ।

सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार, निर्वाचनका सन्दर्भमा तयार भएको एकीकृत सुरक्षा योजना २०८२ राष्ट्रपतिबाट अनुमोदित भइसकेको छ। योजना अनुसार, सेनाको परिचालन राष्ट्रिय सुरक्षा परिषदबाट समेत स्वीकृत भइसकेको छ।

निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ। निर्वाचनपूर्व, मतपत्र छपाइको सुरक्षा र महत्त्वपूर्ण संरचनाको सुरक्षा सेनाको जिम्मेवारी हुनेछ। यससँगै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै विमानस्थल, कारागार र अन्य संरचनाको सुरक्षा पनि सेनाले हेर्नेछ।

मतदानको दिन सेनाले तेस्रो सुरक्षा घेरामा रहि राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिलाउने प्रवक्ता बस्नेतले जानकारी दिनुभयो। सेनाले यस अघि तालिम र अभ्यासमार्फत तल्लो तहसम्म एकीकृत सुरक्षा व्यवस्थापन सुनिश्चित गर्ने तयारी पनि गरिरहेको छ।