जहरसिंहपौवा–साँखु सडक दुर्घटनाः मृतक संख्या ५ पुग्यो, ३३ घाइतेको उपचार जारी

160 Shares

काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा पर्दा तीन महिला र दुई पुरुषको ज्यान गएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–५, जोरपाटी निवासी अन्दाजी ५५–६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति १२ः३० बजे मृत्यु भएपछि मृतक संख्या पाँच पुगेको हो ।

यसअघि बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता तथा पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।

नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीका कर्मचारीहरू पिकनिकबाट फर्किने क्रममा सवार उक्त बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरूको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको र उपचार जारी रहेको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।