काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा दुर्घटनामा परेको बस पिकनिकबाट फर्कंदै गरेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बुधबार साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब एक सय मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा भेटिएको र तत्कालै प्रहरी टोलीले उद्धार कार्य सुरु गरेको उहाँले जानकारी दिनुभयो।
बसमा करिब ३५ देखि ४० जना सवार थिए। ‘नेचर हब’ नामक संस्थाका कर्मचारीहरू पिकनिक मनाएर फर्किंदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २२ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि पुर्याइएको छ। घाइतेहरूलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज तथा अत्तरखेललगायतका अस्पतालमा भर्ना गरिएको एसपी भट्टराईले बताउनुभयो।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया