निर्यात अनुदानका लागि बजेट नहुँदा अनुदान दिन नसकिएको हो : मन्त्री सिन्हा

169 Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शीर्षकमा मात्र १० हजार रुपैयाँ विनियोजन गरेकाले वर्तमान सरकारले निर्यात अनुदान दिन नसक्ने अवस्था बनेको बताउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले विदेशी मुद्रा आर्जनमा निर्यातले महत्वपूर्ण भूमिका खेले पनि तत्कालीन सरकारको अकर्मण्यताका कारण निर्यात व्यवसायीलाई अनुदान उपलब्ध गराउन नसकिएको स्पष्ट पार्नुभयो।

उहाँले जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिहरूले जिम्मेवारीअनुसार काम नगर्दा यस्ता समस्या देखापरेको उल्लेख गर्दै आगामी दिनमा सक्षम व्यक्तिलाई मात्र सांसदमा निर्वाचित गर्न आग्रह गर्नुभयो।

मन्त्री सिन्हाले नयाँ निर्यात प्रोत्साहन कार्यक्रमका लागि कार्यविधि निर्माण भइरहेको र सो प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। साथै, ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँका अनुसार गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्तरोन्नतिको काम भइरहेको छ। गुणस्तर विभागको भवन आगलागीबाट जलेका कारण शून्य अवस्थाबाट काम सुरु गर्नुपर्दा केही चुनौती थपिएको पनि मन्त्री सिन्हाले बताउनुभयो।