काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारी निकायहरूमा आवश्यक इन्जिनियरको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले सहमति नदिएको गुनासो गर्नुभएको छ।
मंगलबार ललितपुरमा आयोजित इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणमा मात्रै २–३ सय इन्जिनियर आवश्यक रहे पनि दरबन्दी थप्ने प्रस्तावमा अर्थ मन्त्रालयले रोक लगाउँदै आएको बताउनुभयो।
मुलुकमा इन्जिनियरहरूको उच्च माग रहेको उल्लेख गर्दै उहाँले विशेषगरी विद्युत, कम्प्युटर र सूचना प्रविधि (आईटी) इन्जिनियरको अभाव गम्भीर बन्दै गएको बताउनुभयो।
मन्त्री घिसिङले भन्नुभयो,
“सरकारी संस्थानहरूमा इन्जिनियरको ठूलो माग छ। हामीले इलेक्ट्रिकल इन्जिनियरसमेत पर्याप्त रूपमा पुर्याउन सकेका छैनौँ। कम्प्युटर र आईटी इन्जिनियरको माग झन् ठूलो छ। तर दरबन्दी सिर्जना गर्न खोज्दा अर्थ मन्त्रालयले सहमति दिँदैन।”
नेपाल विद्युत प्राधिकरणका करिब १३० वटा शाखामा आवश्यक इन्जिनियर नहुँदा काम प्रभावित भइरहेको उहाँको भनाइ थियो। “प्राधिकरणमा अहिले पनि २–३ सय इन्जिनियर खपत गर्ने ठाउँ छ। दरबन्दी छ, तर इन्जिनियर छैनन्। थप दरबन्दी प्रस्ताव गर्दा अर्थ मन्त्रालयले रोक्छ,” उहाँले गुनासो गर्नुभयो।
मन्त्री घिसिङले इन्जिनियरिङ क्षेत्रको जनशक्ति व्यवस्थापनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याउँदै, यसले रोजगारी सिर्जना र विकास दुवैमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया