अस्थिर राजनीतिक प्रणालीका कारण विकास हुन सकेन : मन्त्री खरेल

163 Shares

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीकै कारण नेपालमा अपेक्षित विकास हुन नसकेको बताउनुभएको छ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले नेपालको राजनीतिक इतिहासमा कुनै पनि प्रधानमन्त्री वा मन्त्रीले पूर्ण पाँच वर्ष कार्यकाल पूरा गर्न नपाएको उल्लेख गर्नुभयो। यस्तो अस्थिरताले दीर्घकालीन विकास सम्भव नहुने उहाँको भनाइ थियो।

मन्त्री खरेलले आफू मन्त्री भएको छोटो अवधिमा कुनै चमत्कार हुन नसक्ने स्पष्ट पार्दै, हाल देखिएका संरचनागत र प्रशासनिक अल्झनहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्रालयका तर्फबाट आगामी दुई महिनाभित्र रहेका अवरोधहरू हटाउन सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो।

कार्यक्रममा उहाँले भन्नुभयो,
“हाम्रो राजनीतिक प्रणालीको जरो हेर्ने हो भने भीमसेन थापाको समयदेखि अहिलेसम्म पाँच वर्ष पूरा गर्ने प्रधानमन्त्री देखिएको छैन। यस्तो अवस्थामा देशले कसरी स्थायित्व पाउँछ ? तीन महिनामा कायापलट सम्भव छैन। मैले पहिलो दिन नै भनेको हुँ—म कुनै चमत्कार गर्न सक्दिनँ, तर जनतालाई दुःख दिने काम पनि गर्दिनँ।”

मन्त्री खरेलले डिजिटल नेपाल रोडम्याप तयार गर्दा सरोकारवाला सबै पक्षबाट आवश्यक सुझाव दिन आग्रह गर्नुभयो। साथै, संविधान संशोधन आवश्यक छैन भन्ने धारणा राख्ने कुनै पनि राजनीतिक दल नरहेको उल्लेख गर्दै, सुधारका लागि व्यापक राजनीतिक सहमति आवश्यक रहेको बताउनुभयो।