अमेरिकाको भेनेजुएलामाथिको व्यवहारप्रति एमालेको आपत्ति

160 Shares

काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि हालै अपनाएको व्यवहारप्रति आपत्ति जनाएको छ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले अमेरिकाले भेनेजुएलामा गरेको व्यवहार अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत रहेको ठहर गर्दै यस्ता कार्य नगर्न आग्रह गरेको हो।

बैठकपछि जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले अमेरिकाले भेनेजुएलामाथि अपनाएको व्यवहार अन्तर्राष्ट्रिय कानुन र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको बताउनुभयो। नेपाल स्थायी विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्दै उहाँले सबै राष्ट्रहरूले एउटै मूल्य र मान्यताको आधारमा अघि बढ्नुपर्नेमा एमाले स्पष्ट रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार एमाले सबै देशको सार्वभौमिकता र अखण्डताको सम्मान हुनुपर्ने मान्यतामा दृढ छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले हालै सैन्य रूपमा नियन्त्रणमा लिएर अमेरिकी अदालतमा उपस्थित गराएको घटनाप्रति एमालेले विरोध जनाएको हो।

एमालेले अन्तर्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार विश्व व्यवस्थातर्फ फर्कन आह्वानसमेत गरेको छ। भट्टले भन्नुभयो, “हामी सधैँ स्थायी विश्व शान्तिको पक्षमा छौँ। सबै देश एउटै मूल्यमा चल्नुपर्छ, संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा अघि बढ्नुपर्छ। मुलुकको सार्वभौमिकता र अखण्डताको सम्मान हुनुपर्छ। अमेरिकाद्वारा भेनेजुएलामाथि गरिएको व्यवहार विश्व न्यायिक दृष्टिले कदापि स्वीकार्य हुन सक्दैन। यस्तो घटनाको हामी विरोध गर्दछौँ र विश्व व्यवस्थातर्फ फर्कन आह्वान गर्दछौँ।”

यसैगरी एमालेले जनकपुर र वीरगञ्जमा भएका सामाजिक सद्भाव खलबलाउने घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले कुनै पनि किसिमको द्वन्द्व भड्काउने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।