एमाले नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरे, नेतृत्वमाथि गम्भीर आरोप

131 Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसंघीय मन्त्री बृजेश कुमार गुप्ताले पार्टी परित्याग गर्नुभएको छ।

कपिलवस्तुबाट चार पटकसम्म संघीय सांसद निर्वाचित भइसकेका गुप्ताले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा युवा–विद्यार्थीले उठाएका सुशासनलगायतका जायज मागलाई बेवास्ता गर्दै आन्दोलनमाथि दमन गरेको आरोप लगाउनुभएको छ।

नेता गुप्ताका अनुसार नेपाली कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर जे गरे पनि हुन्छ भन्ने दम्भ देखिएको छ र एमाले नेतृत्वमा सुधारको कुनै संकेत नदेखिएपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको हो। उहाँले पार्टी नेतृत्वको मुख्य ध्यान भ्रष्टाचारलाई संरक्षण गर्ने दिशामा केन्द्रित रहेको आरोपसमेत लगाउनुभएको छ।

उहाँले पार्टी नेतृत्वको गतिविधि, संस्कार र व्यवहार भ्रष्टाचार गर्ने तथा भ्रष्टाचारी जोगाउने तर सुशासन दिन नचाहने प्रवृत्तितर्फ उन्मुख देखिएको दाबी गर्नुभयो। राम्रो कामको जस मात्र लिने तर गल्ती–कमजोरी कहिल्यै नस्वीकार्ने प्रवृत्ति पटक–पटक देखिएपछि अन्ततः राजीनामा दिएको उहाँको भनाइ छ।

नेता गुप्ताले आफू भारतमा रहेकै समयमा पार्टीबाट राजीनामा दिएको र पछिल्लो महाधिवेशनमा समेत सहभागी नभएको जानकारी दिनुभएको छ।