वीरगञ्जको अवस्था सामान्य बन्दै, कर्फ्यू हटाउने वा थप्ने विषयमा सर्वपक्षीय बैठक हुँदै

168 Shares

काठमाडौं । लगातार दुई दिनसम्म तनावग्रस्त बनेको पर्साको वीरगञ्जको अवस्था अहिले क्रमशः सामान्य बन्दै गएको छ।

धनुषामा मस्जिदमा तोडफोड र पवित्र ग्रन्थ कुरान जलाइएको घटनालाई लिएर दुई समुदायबीच प्रदर्शन भएपछि आइतबारदेखि वीरगञ्ज अशान्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागू गरिएको भए पनि अवस्था पूर्ण रूपमा सामान्य नभएपछि मंगलबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरिएको थियो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार हाल वीरगञ्जको अवस्था शान्त रहेको छ। उहाँले केहीबेरपछि सर्वपक्षीय बैठक बोलाई निषेधाज्ञा थप गर्ने वा हटाउनेबारे निर्णय गरिने जानकारी दिनुभएको छ।

धनुषाको कमला नगरपालिका–६, सखुवा मरानस्थित मुस्लिम बस्तीमा रहेको मस्जिदमा गत शनिबार तोडफोड गरिएको तथा मुस्लिम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरान जलाइएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चर्किएको थियो। सोही घटनालाई लिएर वीरगञ्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन गर्दै आएका थिए।

यसक्रममा सोमबार निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शन गरेको आरोपमा दुवै समुदायका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।