काठमाडाैं । वीरगञ्जको ईदगाहचोक क्षेत्रमा एक मोटरसाइकलमा आगजनी भएको छ। स्थानीय स्रोतका अनुसार उक्त घटनामा केही व्यक्तिहरू संलग्न रहेको बताइएको छ। घटनापछि शहरको सुरक्षा अवस्था थप संवेदनशील बनेको प्रशासनले जनाएको छ।
यसैबीच, तनावपूर्ण अवस्थाकै बीच हिन्दु समुदायले ‘जय श्रीराम’ नारा लगाउँदै वीरगञ्जमा प्रदर्शन गरेपछि स्थिति थप जटिल बनेको छ। हिन्दु धर्म, देवी–देवता, पर्व तथा मन्दिरहरूप्रति आपत्तिजनक टिप्पणी गर्नेहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै हिन्दु समाजको आह्वानमा विशाल जुलुस तथा प्रदर्शन गरिएको थियो।
उक्त प्रदर्शनमा हिन्दु समाजसहित विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि, युवा, महिला तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।
स्थिति नियन्त्रणमा लिन जनपथ प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति परिचालन गरिएको छ। घटनास्थलको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरीका प्रहरी उपरीक्षक (एसपी), सशस्त्र प्रहरीका एसपी तथा नेपाली सेनाको टोलीसमेत स्थलगत रूपमा खटिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा जारी रहेकै अवस्थामा वीरगञ्जका केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बताइएको छ। ढुंगामुढा भएपछि प्रहरीले केही स्थानमा अश्रुग्यास प्रयोग गरेको जनाएको छ। पर्सा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुदीप राज पाठक स्वयं फिल्डमा खटिएर सुरक्षा व्यवस्थाको नेतृत्व गरिरहेका छन्।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति, संयम र सतर्कता अपनाउन आग्रह गर्दै अफवाहमा नपर्न र सुरक्षाकर्मीलाई सहयोग गर्न अनुरोध गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया