काठमाडाैं। सरकारले भन्सार जाँचपासमा लागू हुँदै आएको सन्दर्भ मूल्य पुस्तिका खारेज गरी अनलाइन मूल्यांकन डाटाबेस प्रणाली कार्यान्वयनमा ल्याएको छ।
नयाँ प्रणाली लागू भएपछि यसको कार्यविधिबारे केही दुविधा देखिए पनि भन्सार विभागले सबै भन्सार कार्यालयमा चरणबद्ध रूपमा कार्यान्वयन गरिसकेको जनाएको छ। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार गत भदौ ८ गतेदेखि विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, चोभार तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सुरु गरिएको प्रणाली हाल बाँकी १८ वटा भन्सार कार्यालयसम्म विस्तार गरिएको छ।
महानिर्देशक भण्डारीले भन्सार बिन्दुसम्म आइपुग्दा लागेका सम्पूर्ण खर्च जोडेर निर्धारण हुने मूल्यलाई कारोबार मूल्य मानिने र सोही मूल्यका आधारमा मालवस्तु जाँचपास सुरु गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार विगतमा सन्दर्भ मूल्यलाई आधार बनाएर नक्कली बिल–बिजक पेश हुने समस्या थियो। सन्दर्भ मूल्यसँग वस्तुको मूल्य मिल्दा थप अनुसन्धान नगर्ने अभ्यास रहेकाले अनियमितता बढेको थियो। तर अनलाइन मूल्यांकन डाटाबेस प्रणाली लागू भएसँगै व्यवसायीलाई वास्तविक कारोबार र सही कागजात पेश गर्न बाध्य बनाएको उहाँले बताउनुभयो।
महानिर्देशक भण्डारीले निजी क्षेत्रले विगत २७ वर्षदेखि उठाउँदै आएको सन्दर्भ मूल्य हटाउनुपर्ने मागसम्बोधन भएको उल्लेख गर्दै यसले व्यापार लागत घटाउने र पारदर्शिता बढाउने विश्वास व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया