जेनजी आन्दोलन छानबिन: पूर्वप्रधानमन्त्री ओलीसँग बयानको औपचारिकता सम्पन्न

210 Shares

काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बयानको औपचारिकता पूरा गरेको छ।

आयोगले सहसचिव मार्फत प्रश्नहरू पठाएर लिखित रूपमै बयान लिएको हो। भदौ २३ गते झण्डै दुई दर्जन जेनजी युवाहरूको मृत्यु भएको घटनामा प्रमुख जिम्मेवार ठानिएका ओलीसँग आयोगले केही प्रश्नहरूको जवाफ लिएर बयानको औपचारिकता मात्र पूरा गरेको जनाएको छ।

ओलीले सुरुदेखि नै आयोगलाई अस्वीकार गर्दै आएका थिए र प्रत्यक्ष उपस्थित भएर बयान दिन अस्वीकार गर्दै आएका थिए। आयोगले भने कानुनअनुसार प्रक्रिया अघि बढाउँदै ओलीको घरमै कर्मचारी पठाएर लिखित प्रश्नहरूको जवाफ लिएको हो।

यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग आयोग कार्यालयमै दुई दिनसम्म बयान लिएको थियो भने कर्मचारी र प्रहरी अधिकारीहरूसँग हप्तौंसम्म बयान लिइसकेको छ।

आयोगले लिखित जवाफ लिएकै भरमा पूर्वप्रधानमन्त्री ओलीको बयान औपचारिक रूपमा सम्पन्न भएको जनाएको छ।