काठमाडौं। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पेश गरेको बन्दसूचिसम्बन्धी कागजातको रुजु कार्य सम्पन्न गरेको छ।
आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूले बुझाएका बन्दसूचिमा समावेश कागजातहरूको विस्तृत जाँच गरिएको हो। रुजुका क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उहाँले बताउनुभयो।
रुजुका क्रममा कागजात अपूरा रहेका, उमेर नपुगेका लगायतका सबै प्रकारका त्रुटीहरू पहिचान गरी दलहरूलाई सच्याउन पठाइने निर्देशक घर्तीमगरले जानकारी दिनुभयो। उहाँका अनुसार २१ गतेदेखि २७ गतेसम्म राजनीतिक दलहरूले ती त्रुटी सच्याएर पुनः बन्दसूचि पेश गर्न पाउनेछन्।
आयोगले २७ गते दलहरूबाट प्राप्त विवरणका आधारमा बन्दसूचि अन्तिम रूप दिने जनाएको छ। अन्तिम सूचि सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको छ।
उक्त प्रक्रियाबारे पनि निर्वाचन आयोगले सम्बन्धित दललाई जानकारी गराउने जनाएको छ। उम्मेदवारी फिर्तापछि दलहरूले खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गर्न पाउनेछन्। दलबाट प्राप्त अन्तिम विवरणका आधारमा तयार पारिएको अन्तिम बन्दसूचिलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने जनाएको छ।
उल्लेखनीय छ, फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूचि निर्वाचन आयोगमा पेश गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया