काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
स्रोतका अनुसार सुवेदीलाई विभिन्न स्वास्थ्य समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार उहाँमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम हुनु तथा रिंगटा लाग्ने जस्ता समस्या देखिएका छन्। चिकित्सकले अन्य थप स्वास्थ्य अवस्थाबारे भने खुलाउन चाहेनन्।
यसअघि सुवेदीले प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराइसकेको जनाइएको छ। हाल संक्रमणका कारण चक्कर लाग्ने समस्या बढेपछि बिहीबार अस्पताल भर्ना गरिएको हो।
अहिले उहाँलाई अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुवेदीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग नियमित परामर्श भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया