सरकार आफैं निर्वाचन बिथोल्ने प्रक्रियामा लागेको छ : उपमहासचिव महासेठ

154 Shares

काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार आफैं निर्वाचन बिथोल्ने काममा लागेको आरोप लगाउनुभएको छ।

आइतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र फरार भएका कैदीबन्दीहरू अझै फिर्ता नआउनुबाट सरकार चुनाव गराउन गम्भीर नभएको पुष्टि हुने दाबी गर्नुभयो।

उपमहासचिव महासेठले एमाले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन तयार रहेको स्पष्ट गर्दै प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा विगतको नजिरअनुसार सर्वोच्च अदालतले फैसला गर्नुपर्ने जिकिर गर्नुभयो। उहाँका अनुसार संसद पुनःस्थापनासम्बन्धी अघिल्ला फैसलाहरू नै अहिलेका लागि मार्गदर्शक बन्नुपर्छ।

महासेठले भन्नुभयो, “अहिले जानी–नजानी यो सरकार आफैं निर्वाचन बिथोल्ने प्रक्रियामा अघि बढिरहेको छ। २३ र २४ गते लुटिएका हजारौँ सुरक्षा निकायका हतियारहरू अझै बाहिर छन्। लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएका छैनन्। भागेका कैदीबन्दीहरूमध्ये पनि बहुसंख्यक अझै फरार छन्।”

यस्तो अवस्थामा निर्वाचन कसरी सम्भव हुन्छ भन्ने प्रश्न उठाउँदै उहाँले बाहिर रहेका हतियार र कैदीबन्दी कसको विरुद्ध प्रयोग हुन सक्छन् भन्ने विषय गम्भीर र सोचनीय भएको बताउनुभयो।

उपमहासचिव महासेठले एमाले सम्माननीय सर्वोच्च अदालतको आदेशको प्रतीक्षामा रहेको उल्लेख गर्दै भने, “हामी चुनावबाट भाग्दैनौँ। चुनाव भयो भने हामी भाग लिन्छौँ नै। तर हाम्रो माग के हो भने संविधानका दफा–उपदफालाई सर्वोच्च अदालतले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ। संसद विघटनपछि अदालतले स्थापित गरेको नजिर पुनः कायम रहोस्।”

महासेठले संघीयता, लोकतन्त्र र गणतन्त्रसहितको संविधानको रक्षा गर्न एमालेले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्न सक्ने समेत बताउनुभयो।