पहिलो नेपाली ओलम्पियन बक्सर नाम सिंह थापाको निधन

171 Shares

काठमाडौं । सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी पहिलो ऐतिहासिक खेलाडीमध्ये एक, पूर्व बक्सर नाम सिंह थापाको ७९ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित थापाले हङकङस्थित हेभेन अफ होप अस्पतालमा अन्तिम सास फेरेका हुन्। नेपाली बक्सिङ इतिहासका महत्वपूर्ण व्यक्तित्व मानिने उनी सन् १९६४ को ऐतिहासिक टोकियो ओलम्पिकमा सहभागी हुने चार बक्सरमध्ये एक थिए।

१४ वर्षको उमेरमै ब्रिटिस सेनामा ब्वाय सोल्जरका रूपमा भर्ना भएका थापाले २/६ गोर्खा राइफल्समा कार्यरत रहँदा बक्सिङमा विशिष्ट पहिचान बनाएका थिए। तत्कालीन राजा महेन्द्रको स्वीकृतिमा उनले पहिलो पटक ओलम्पिकमा नेपालको झण्डा फहराउने गौरव प्राप्त गरेका थिए।

नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई नेपाली खेलकुद क्षेत्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। “बक्सिङ खेलप्रतिको उहाँको योगदान र समर्पण सदैव स्मरणीय रहनेछ,” उनले भने।

ब्रिटिस सेनामा २७ वर्ष सेवा गरी क्याप्टेन पदबाट अवकाश पाएका थापाले पछि नेपालको राप्ती अञ्चलमा कल्याणकारी अधिकृतका रूपमा समेत सेवा गरेका थिए।

हङकङको कोलोनी बेल्ट प्रतियोगितामा अन्यायपूर्ण निर्णय भए पनि नागरिकता परिवर्तनको प्रस्ताव अस्वीकार गर्दै नेपाली पहिचानलाई प्राथमिकता दिएका थापा एक सच्चा राष्ट्रभक्त खेलाडीका रूपमा परिचित थिए।

उनका श्रीमती, एक छोरा र चार छोरी छन्।