महसुल नतिर्ने २४९ उपभोक्ताको विद्युत लाइन काटियो

201 Shares

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयभित्र विद्युत महसुल नबुझाउने उपभोक्ताविरुद्ध कडा कारबाही सुरु गरेको छ।

चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नतिर्ने २४९ जना उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको छ।

वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ पुगेको छ। बढ्दो बक्यौता नियन्त्रण र सरकारी राजस्व संरक्षणलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन तथा कारबाही प्रक्रिया तीव्र पारिएको उहाँले जानकारी दिनुभयो।

प्राधिकरणका अनुसार बक्यौता रकममध्ये मंसिर मसान्तसम्म १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दी प्रणालीमार्फत असुल गरिएको छ। यद्यपि अझै ठूलो रकम उठ्न बाँकी रहेकाले महसुल नतिर्ने उपभोक्ताको पहिचान गरी लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहने जनाइएको छ।

वितरण केन्द्र प्रमुख शाहले समयमै महसुल बुझाउन उपभोक्तालाई पटक–पटक सूचना र अनुरोध गरिए पनि अटेरी गर्ने प्रवृत्ति कायम रहेकाले कडा कदम चाल्नुपरेको बताउनुभयो। उहाँले नियमित रूपमा महसुल भुक्तानी गरेमा यस्ता कारबाहीबाट जोगिन सकिने स्पष्ट पार्दै सबै उपभोक्तालाई जिम्मेवार र सचेत बन्न आग्रह गर्नुभयो।

नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा सहज, नियमित र गुणस्तरीय बनाउन उपभोक्ताको समयमै महसुल भुक्तानी अत्यावश्यक रहेको उल्लेख गर्दै बक्यौता भएका उपभोक्तालाई तत्काल महसुल बुझाउन अन्तिम चेतावनी दिएको छ।