समानुपातिक बन्दसूची दुई अवस्थामा मात्र परिवर्तन गर्न पाइनेः निर्वाचन आयोग

162 Shares

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ यही पुस १३ र १४ गते राजनीतिक दलहरूले बुझाएको बन्दसूचीको नाम दुई वटा अवस्थामा मात्र परिवर्तन गर्न पाइने निर्वाचन आयोगले जनाएको छ।

आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी निर्वाचन तयारीबारे जानकारी दिँदै समानुपातिक बन्दसूची परिवर्तनबारे देखिएको जिज्ञासामा स्पष्टता दिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न मिल्ने–नमिल्ने विषयमा व्यापक चासो रहेको उल्लेख गर्दै कानुनले तोकेका दुई अवस्थामा मात्र नाम परिवर्तन गर्न सकिने बताउनुभयो।

प्रवक्ता भट्टराईका अनुसार पहिलो, समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले बन्दसूची संशोधन गर्न सकिनेछ। दोस्रो, कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिएमा सो स्थानमा अर्को नाम पठाउन दललाई अनुमति हुनेछ।

आयोगले यही पुस २८ गतेसम्म सम्बन्धित उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ। उम्मेदवारले नाम फिर्ता लिएपछि आयोगले सम्बन्धित राजनीतिक दललाई जानकारी गराउने र दलले सो स्थानमा अर्को व्यक्ति सिफारिस गर्न पाउने प्रवक्ता भट्टराईले बताउनुभयो।

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीको प्रारम्भिक नामावली आगामी माघ ४ गते सार्वजनिक गर्ने र अन्तिम नामावली माघ २० गते प्रकाशित गर्ने जानकारी पनि दिएको छ।