जेनजी आन्दोलनका क्षतिमा बीमितलाई ५ अर्ब ४८ करोड भुक्तानी

131 Shares

काठमाडाैं। जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूले हालसम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ दावी रकम बीमितहरूलाई भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा निर्जीवन बीमा कम्पनीहरूमा कूल ३ हजार ३ सय १६ वटा बीमा दावी परेका थिए। ती दावीहरूको कूल रकम करिब २३ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा अग्रिम भुक्तानीसहित हालसम्म उल्लेखित रकम भुक्तानी भइसकेको हो।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार, सम्पत्ति बीमातर्फ ७१२ वटा दावीबाट करिब १९ अर्ब ५ करोड दावी रकम परेकोमा ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तानी भएको छ।

मोटर बीमातर्फ २ हजार ३ सय २१ वटा दावीबाट करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँ दावी परेकोमा १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २ सय २६ वटा दावीबाट करिब ५५ करोड ३९ लाख रुपैयाँ दावी परेकोमा ८ करोड ३६ लाख रुपैयाँ भुक्तानी भएको छ। परिवहन बीमातर्फ १२ वटा दावीबाट करिब १ करोड ६९ लाख रुपैयाँ दावी परेकोमा १ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको छ भने अन्य बीमातर्फ ४५ वटा दावीबाट करिब ३८ करोड ४० लाख रुपैयाँ दावी परेकोमा अग्रिम भुक्तानीसहित करिब ५ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

यस्तै, जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दावी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दावी भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।

बीमा प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ८ सय ६३ वटा पुनर्बीमा दावी परेका छन्। ती दावीहरूको कूल पुनर्बीमा रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको छ।