चोरीको ६५ लाख रकमसहित केसी नियन्त्रणमा

190 Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका एक युवकलाई चोरी गरेको ६५ लाख १७ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीका अनुसार केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो।

प्रहरीका अनुसार केसी सोमबार राति मात्र काठमाडौँबाट घर फर्किएका थिए। काठमाडौँको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरमा चोरी भइरहेको सिसिटिभी फुटेज प्रहरीको हात लागेपछि घटनाको अनुसन्धान अगाडि बढाइएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार सिसिटिभी फुटेजको आधारमा केसीको पहिचान गरी घर यकिन गरिएको थियो। त्यसपछि प्रहरीले रातभर निगरानी गरी खोजतलासी गर्दा उक्त रकम बरामद भएको हो।

प्रहरीले केसीलाई आज चोरीको रकमसहित पक्राउ गरेको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।