काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्यलाई दुब्लाहरूको गठजोड भनी टिप्पणी गरेका छन् ।
नेकपा एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरूले सहकार्य गर्नुपरेको ओलीका जिकिर थियो । मदन–आश्रित स्मृति प्रतिष्ठानले मङ्गलवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेलाई सिंहको संज्ञा दिँदै त्यसलाई कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर जित्न नसक्ने बताएका हुन् ।
अध्यक्ष ओलीले काँग्रेस, एमाले जस्तो विशाल पार्टी लड्नका लागि दुब्लाहरूले जो कोहीसँग पनि निरन्तर सहकार्य र एकताको कुरा गरिरहेको दाबी समेत गरे । उनले लोकप्रिय छ भन्ने कुरा परीक्षण आगामी निर्वाचनबाट हुने समेत बताए । अध्यक्ष ओलीले लोकतन्त्र पराजित नहुने भएकाले आफूहरूले आगामी निर्वाचनमा विजय सुनिश्चित भएको जिकिर समेत गरे ।
उनले भने ‘अहिले लोकप्रियता, अलोकप्रियताका अनेक विवादहरू, सृजना गरिएका अनेक भाष्यहरूको व्यवस्थित जवाफ एमालेका महाधिवेशनले दिएको छ । अर्को देशका को बढी लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्म नै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेले घरैमा । हामी चुनाव पर्खिराखेका छौँ । कहिले होला फागुन २१ मा होला ? वा वैशाखमा होला । वा अर्को मंसीरमा होला । हामी चुनाव पर्खिरहेका छौ । जस्तो महाधिवेशनबाट हामीले धेरै कुराको जवाफ दिएका छौ । त्यस्तै निर्वाचनबाट पनि राष्ट्रिय फैसला दिनेछौँ । त्यसका लागि हामीतयार छौँ भन्ने कुराको सन्देश पनि महाधिवेशनले दिएको छ । पूर्ववक्ता साथीहरूले भनेजस्तै लोकतन्त्र अपराजय छ । यसलाई कसैले पराजित गर्न सक्दैन । यसलाई कसैले जित्न सक्दैन । लोकतन्त्रले नै जित्छ ।
खेलमा खेलाडीहरू मध्ये एउटा जुडोको खेल भयो भने कुन खेलाडी कतिखेर पछारिन्छ, कुन खेलाडी कतिवेर पछारिन्छ । तर, उत्कृष्ट खेलाडीले जित्छ । अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन–विशाल एमाले देखेपछि अनि तिमी र म मिल्यो भनेको छ, तिमी र म मिलौँ भनेको छ । ऊ सँग पनि मिलौँ भनेको छ । यसो हेर्यो विशालकाय एमाले छ । भिड्नु त्योसँग छ । अनि लौन मिलू भनेर… अनि कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको शिकार हुन्छ ? मुकाविला हुन्छ ? यसो हेर्छन–नेपाली काँग्रेस छ । छेउमा नगइन्जेल त मजानै छ । छेउमा गएपछि हाग्रो पार्छ नि नेपाली काँग्रेसले पनि । त्यो पनि हेर्छन । त्यसो भएपछि मोर्चा गर्न थाल्दछन् । दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लडनका लागि दुब्लाले एकताका कुरा गर्दछन् । आज पनि अर्को एकता हुन्छ रातीसम्ममा । अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो । आज पनि हुन्छ, भोली पनि हुन्छ । अनि दुई चार जना, दुई चार जना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा गरेपनि कसरी होला । त्यही तयारी नेकपा एमालेको एघारौँ महाधिवेशनले गरेको छ । नेपाली काँग्रेस पनि त्यसैगरी स्पष्टताका साथ तयारी गर्न चाहिरहेको छ ।’
अध्यक्ष ओलीले घैँटाको पानीले महासागरसँग प्रतिस्पर्धा गरेजस्तो एमालेसँग सहकार्यमा रहेका पार्टीले गर्नुपर्ने दाबी समेत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया