कम बजेटमा ठेक्का लिएर काम नगर्ने प्रवृत्तिविरुद्ध सरकारः घिसिङ

214 Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नभएका ठेक्का तोड्नु सरकारको बाध्यता भएको बताउनुभएको छ।

सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले लामो समयसम्म काम अघि नबढेका ठेक्काहरू तोडेर व्यवस्थापन गर्न सरकार बाध्य भएको स्पष्ट पार्नुभयो।

उहाँले कम लागतमा ठेक्का लिने तर समयमा काम नगर्ने प्रवृत्तिका कारण जनताले ठूलो दुःख पाएको भन्दै त्यस्ता अवस्थालाई नियन्त्रण गर्न ठेक्का तोड्नुपर्ने अवस्था आएको बताउनुभयो। यद्यपि सबै निर्माण व्यवसायी गलत नभएको उहाँको भनाइ थियो।

समयमै गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीहरू पनि रहेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यस्ता व्यवसायीलाई निरन्तर प्रोत्साहन गरिँदै आएको जानकारी दिनुभयो। निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न केही ऐन तथा नियमावली संशोधनको तयारी भइरहेको पनि उहाँले बताउनुभयो।

निर्माण व्यवसायी बिना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री घिसिङले विकास बजेटको खर्च निर्माण व्यवसायीमार्फत नै हुने भएकाले उनीहरूको क्षमता विकासमा विशेष ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो।

“अहिले धेरै ठाउँमा ठेक्का तोड्ने र व्यवस्थापन गर्ने काम भइरहेको छ। वर्षौंदेखि काम नहुने, कम मूल्यमा ठेक्का लिएर काम नगर्ने अवस्थालाई नियन्त्रण गर्न बाध्य भएर ठेक्का तोडिएको हो,” उहाँले भन्नुभयो।

मन्त्री घिसिङले सडक बोर्डमार्फत काम गर्न धेरै माग आउने गरे पनि सीमित बजेटका कारण सबै माग पूरा गर्न कठिनाइ रहेको बताउनुभयो। संघीयताको मर्म नबुझ्दा सडक मर्मतसम्भारका काममा समस्या देखिएको उल्लेख गर्दै उहाँले स्थानीय तह र प्रदेशले हेर्नुपर्ने सडकको मर्मतका लागि समेत संघीय सरकारतर्फ देखाउने प्रवृत्ति रहेको जानकारी दिनुभयो।