काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ राजनीतिक दलले समानुपातिकतर्फको उम्मेदवार बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगका अनुसार नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित ठूला तथा साना गरी ६३ दलले समानुपातिकतर्फको बन्दसूची दर्ता गराइसकेका हुन्।
बन्दसूची बुझाउने दलहरूमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी–पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी तथा समावेशी समाजवादी पार्टी नेपाल रहेका छन्।
यसैगरी नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, उन्नत लोकतन्त्र पार्टीलगायत अन्य दलहरूले पनि समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाएका छन्।
अब समानुपातिकतर्फको बन्दसूची बुझाउन नेपाली कांग्रेस मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। कांग्रेसले बन्दसूची बुझाएपछि समानुपातिकतर्फ बन्दसूची पेश गर्ने दलको संख्या ६४ पुग्नेछ।
पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरका लागि महाराजगञ्ज पुगेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल र प्रचार विभाग प्रमुख मीन विश्वकर्मा आयोग फर्किन बाँकी रहेकाले बन्दसूची बुझाउन ढिलाइ भएको बताइएको छ। निर्वाचन आयोग कांग्रेसको बन्दसूचीको प्रतीक्षामा रहेको छ।
समानुपातिकतर्फ ६४ दलले उम्मेदवारी दिए पनि आयोगले ५८ वटा दललाई मात्रै चुनाव चिह्न प्रदान गरेको जनाएको छ। केही दलहरू संयुक्त चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा सहभागी हुने भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया