काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन गर्नुपर्ने जेनजी आन्दोलनको मागलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ।
सोमबार जनकपुरधाममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवाहरूले पहिला संविधान संशोधन र त्यसपछि मात्र निर्वाचन गर्नुपर्ने माग अघि सारे पनि सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताउनुभयो। उहाँले केही दिनअघि सरकार र युवाहरूबीच सम्झौता भए पनि त्यसअनुसार कुनै पनि प्रक्रिया अघि नबढेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।
अध्यक्ष यादवले आन्दोलनरत युवाहरूसँग सरकारले धोका दिएको आरोप लगाउँदै लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण भए पनि माग सम्बोधन नगरी अघि बढ्नु गलत भएको धारणा राख्नुभयो। यद्यपि उहाँले आफूहरू निर्वाचनमा जान तयार रहेको स्पष्ट गर्नुभयो।
उहाँले जनता समाजवादी पार्टी, नेपाल आगामी निर्वाचनमा सहभागी हुने बताउँदै मधेशका जनतालाई अधिकारसम्पन्न बनाउने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी सुनिश्चित गर्ने उद्देश्यका साथ निर्वाचन लड्न लागेको दाबी गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया