काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई निकास दिने सबैभन्दा उत्तम र भरपर्दो विकल्प निर्वाचन नै भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
दाहालले अहिलेको अवस्थामा निर्वाचनबाहेक अन्य विकल्प सोच्नु देशलाई फेरि अर्को दुर्घटनातर्फ धकेल्नु सरह हुने चेतावनी दिए । उनले भने, ‘देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न सक्छ ।’ पहिलो पार्टी र नेतृत्वको हैसियतले आफूहरू निर्वाचन प्रक्रियाका लागि बन्दसूची प्रस्तुत गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।
दाहालले मुलुकमा राजनीतिक स्थिरता, स्थायित्व र विकासको नयाँ प्रक्रिया थालनी गर्न अन्य राजनीतिक दलहरू पनि निर्वाचनमा होमिनु सुखद भएको उल्लेख गरे । उनले भने, ‘विभिन्न उतारचढावका बीच सबै दल निर्वाचनमार्फत नै अघि बढ्न सहमत भई वातावरण बन्नुमा म सबैलाई धन्यवाद दिन चाहन्छु ।’
संकटमा परेको राष्ट्रलाई निकास दिन र अराजकता फैलने त्रासबाट देशलाई मुक्त गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको उनले औंल्याए । साथै, पछिल्लो समय नयाँ युवाहरूमा राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको उनले बताए । संयोजक दाहालले शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाटै देशलाई निकास दिनुपर्नेमा जोड दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया