काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म चलेको एकता वार्ता सहमतिमा पुग्न नसकेको छ। यद्यपि नेताहरूका अनुसार सहमतिका लागि आज पनि छलफल जारी रहनेछ।
एक नेताका अनुसार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने आज अन्तिम दिन भएकाले समयसीमालाई ध्यानमा राख्दै कुलमान घिसिङसँग आज पनि सहमतिको प्रयास हुनेछ। “आज पनि छलफल हुन्छ, सहमतिको प्रयास जारी छ,” ती नेताले भने।
यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र कुलमान पक्षबीच पनि एकता वार्ता भए तापनि त्यसमा उल्लेखनीय प्रगति हुन नसकेको स्रोतले जनाएको छ।
रवि, बालेन र कुलमानबीच केही दिनदेखि एकताको प्रयास हुँदै आएको थियो। तर कुलमानसँग छलफलमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच मात्रै सातबुँदे एकता सम्झौता भएको थियो।
जेन–जी युवा अगुवाहरूले कुलमानसँग पनि एकता गर्न दबाब सिर्जना गरेपछि आइतबार पुनः वार्ता अघि बढाइएको थियो। तर पार्टीभित्र कुलमानलाई दिने पदबारे सहमति नजुट्दा वार्ता टुटेको बताइएको छ। सहमति गराउन केही जेन–जी युवाहरू मध्यराति कुलमानको निवाससम्म पुगेका थिए।
उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यका अनुसार पार्टीमा सह–अध्यक्ष पद वा प्रधानमन्त्री आलोपालो प्रणालीको मागमा रवि–बालेन पक्ष तयार नभएपछि सहमति हुन सकेन। आइतबार रवि–बालेन एकतापछि अनलाइनखबरसँगको अन्तर्वार्तामा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पनि कुलमानले कार्यकारी सभापतिको आकांक्षा राखेकाले सहमति नजुटेको बताएका थिए।
आइतबार पोखरामा आयोजित जिल्ला भेलामा कुलमान घिसिङले नयाँ राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनले सम्मान र स्वाभिमान नघट्ने गरी सबैसँग सहकार्य गर्न आफू तयार रहेको बताएका थिए।
रवि–बालेन–कुलमान एकताका लागि दबाब दिँदै आएका हामी नेपालका संस्थापक सुदन गुरुङ आइतबार मध्यरातिसम्मको छलफलमा सहभागी थिए। सहमति नजुटेपछि उनले राति १ बजे फेसबुकमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद छ। अलग राखिएको हो कि अलग रहन खोजिएको हो, समयले बताउला। तर आजको समयले तपाईंहरूलाई सँगै उभिन म्यान्डेट दिएको छ।”
जेन–जी आन्दोलनपछिको गम्भीर परिस्थितिमा सबै प्रमुख शक्तिहरू एकजुट हुनुपर्ने उनको धारणा छ। “देशलाई विभाजन होइन, एकता आवश्यक छ,” उनले आग्रह गरेका छन्। यसअघि ललितपुरमा रवि–बालेनबीचको एकता वार्ताका क्रममा सुदन गुरुङले बाहिरबाट ढोका बन्द गरेर दबाब सिर्जना गरेका थिए।

वार्ताबारे जानकार स्रोतका अनुसार आइतबार मध्यरातिको छलफल निष्कर्षमा नपुगे पनि आज बिहान १० बजेसम्म सहमतिका लागि अन्तिम प्रयास गरिनेछ। “१० बजेसम्म सहमति भएन भने समानुपातिक क्लस्टर मिलाएर बन्दसूची निर्वाचन आयोगमा पेस गर्न कठिन हुन्छ,” स्रोतले भन्यो, “त्यसैले आजका केही घण्टा अत्यन्त निर्णायक छन्।”
फेसबुकबाट तपाईको प्रतिक्रिया