डा. राजु बैठा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसदका लागि सिफारिस

166 Shares

वीरगञ्ज महानगरपालिका वडा नं. २३, सबैठवा निवासी डा. राजु बैठा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं. २ बाट समानुपातिक सांसदको उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

नेकपा माओवादी केन्द्रले डा. बैठाको नाम सिफारिस गर्दा पार्टीका पर्सा इन्चार्ज विजय महतो थारु, जिल्ला संयोजक रामदरस कुशवाहा, तत्कालिन नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, सह–इन्चार्ज मनोज चौधरी, जसपाका केन्द्रीय सदस्य सत्यनारायण रौनियारलगायत नेताहरूको हस्ताक्षर रहेको छ।

डा. बैठा बुबा भागीरथ बैठा र आमा रामदुलारी देवीका तीन सन्तानमध्ये जेठा हुन्। उनी आफ्नो परिवारमा प्राथमिकदेखि माध्यमिक तहसम्मको औपचारिक शिक्षा पूरा गर्ने पहिलो व्यक्ति हुन्। उनले हरिखेतान बहुमुखी क्याम्पसबाट प्लस टु, ठाकुरराम बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातक (बिएड) र स्नातकोत्तर (एमएड) पूरा गरेका छन्। साथै त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) अध्ययन गरेका छन्।

शैक्षिक यात्रालाई निरन्तरता दिँदै उनले भारतको पञ्जाबस्थित रिमिक विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका छन्। दलित तथा सीमान्तकृत समुदायमा जन्मिएका डा. बैठाले सामाजिक विभेद र अपहेलनाका शब्दहरू सहँदै अध्ययनको उच्चतम तहसम्म पुग्ने अठोट गरेका थिए।

राजनीतिमा उनी स्पष्ट वक्ता र अडिग नेताका रूपमा चिनिन्छन्। २०५८ सालदेखि नेकपा माओवादी केन्द्रमा सक्रिय रहेका डा. बैठाले अखिल क्रान्तिकारी, जिल्ला समिति सदस्य, तत्कालीन वीरगञ्ज उपमहानगर कमिटी नगर अध्यक्ष, मधेसी राष्ट्रिय मुक्तिमोर्चालगायत विभिन्न संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। हाल उनी पार्टीको पर्सा जिल्ला कमिटी सदस्य तथा वीरगञ्ज महानगरपालिकाका उपाध्यक्ष रहेका छन्।

डा. बैठा दलित र सीमान्तकृत समुदायको अधिकार, समानता र समावेशिताका पक्षमा निरन्तर संघर्षरत छन्। शिक्षा र ज्ञानलाई समाज रूपान्तरणको मुख्य आधार ठान्ने उनी आफ्नो अनुभव र दक्षतालाई समाज सेवा तथा असल समाज निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।