काठमाडौं। नेपाली कांग्रेसले विगतका विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका वा असहयोग गरेका नेता तथा कार्यकर्तामाथि लगाइएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।
शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो। निर्णय कार्यान्वयनका लागि आइतबार कांग्रेसका मातहतका सबै निकायलाई परिपत्रसमेत पठाइएको छ।
परिपत्रमा विगतका निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका, तिनका प्रस्तावक तथा समर्थक बनेका वा अनुशासनविपरीत असहयोग गरेका कारण कारबाहीमा परेकाहरूलाई माफी दिने निर्णय भएको उल्लेख गरिएको छ।
यद्यपि कारबाही माफी पाएका व्यक्तिहरूले यसअघि पार्टीमा बहाल रहेको पद तत्काल फिर्ता नपाउने स्पष्ट गरिएको छ। तर उनीहरूलाई क्रियाशील सदस्यता नवीकरण गर्न भने अनुमति दिइने जनाइएको छ।
यसैगरी बैठकले पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य दलमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पुनः नेपाली कांग्रेसमा फर्कन हार्दिक आह्वान गर्ने निर्णय गरेको छ। कांग्रेसमा पुनः फर्किनेहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गरिने उल्लेख परिपत्रमा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया