अध्यक्ष लिङ्देनको चेतावनी: नेपाल गम्भीर भू–राजनीतिक दबाब र हस्तक्षेपको घेरामा

172 Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भू–राजनीतिक दबाब र हस्तक्षेपको घेरामा फसेको बताउनुभएको छ।

राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपाल अहिले सामान्य राजनीतिक संक्रमणमा मात्र नरहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार बाह्य शक्तिहरूको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ र मुलुक संवेदनशील अवस्थामा पुगेको छ।

अध्यक्ष लिङ्देनले नेपालको निर्णय क्षमता क्रमशः नेपाली जनताको हातबाट बाहिरिँदै गएको दाबी गर्नुभयो। विदेशी शक्तिहरूले कसलाई जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने दाउपेच सुरु भइसकेको भन्दै त्यसका संकेतहरू नेपालमा स्पष्ट रूपमा देखिन थालेको उहाँको भनाइ छ।

उहाँले आगामी फागुन २१ गते तोकिएको निर्वाचनले समस्याको समाधान नगर्ने र उल्टै देशलाई थप संकटतर्फ लैजाने चेतावनी दिनुभयो। सहमति विना हुने निर्वाचनले मुलुकलाई अझ अस्थिर बनाउने र देश अनिश्चितताको दिशातर्फ धकेलिने उहाँको तर्क छ।

अध्यक्ष लिङ्देनले राजसंस्था, हिन्दु राष्ट्र तथा संघीयता खारेजीको पक्षमा उभिएका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन आह्वान गर्नुभयो।

केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भइसकेको उल्लेख गर्दै उहाँले राष्ट्रिय एजेन्डामा एकजुट भए मात्र देशले सही दिशा लिन सक्ने धारणा व्यक्त गर्नुभयो।