निर्वाचन आयोगमा तीन दलको समानुपातिक बन्द सूची पेस

208 Shares

काठमाडाैं । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाउन सुरु गरेका छन्।

निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले समानुपातिक बन्द सूची पेस गरेका छन्। ती दलहरूले जम्मा १३४ जनाको बन्द सूची आयोगमा बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार आइतबार र सोमबार बन्द सूची पेस गर्ने समय तोकिएको छ। आयोगले समानुपातिक बन्द सूची पेस गर्ने कार्यलाई दुई चरणमा सञ्चालन गरिरहेको छ। पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको नाम मतदाता नामावलीमा दर्ता भए–नभएको यकिन गरी निस्सा प्रदान गरिन्छ।

निस्सा प्राप्त गरेपछि मात्र बन्द सूची औपचारिक रूपमा दर्ता गरिने व्यवस्था गरिएको उनले बताए। बन्द सूची पेसका लागि आवश्यक सेवा प्रवाह गर्न आयोगले सबै स्रोत–साधनको व्यवस्था मिलाएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए।

निर्वाचन आयोगको कार्यतालिका व्यस्त रहेकाले समय थप गर्न नसकिने स्पष्ट पार्दै उनले सोमबार साँझ ६ बजेसम्म आउने राजनीतिक दलहरूलाई सेवा प्रदान गरिने बताए।

प्रवक्ता भट्टराईले कानुनले तोकेअनुसार विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित हुने गरी दलहरूले बन्द सूची तयार गर्ने विश्वास व्यक्त गरे। यसका लागि आयोगले राजनीतिक दलहरूलाई अभिमुखीकरणसमेत गराइसकेको उनको भनाइ छ।

बन्द सूचीमा संशोधन आवश्यक परेमा पुस २१ गतेदेखि २७ गतेसम्म समय दिइने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको जानकारी दिँदै उनले पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफिकेसन गरी कानुनअनुसार मिलेको–नमिलेको जाँच गरिने र आवश्यक परे पुस २० गते सूचना दिइने बताए।