जेन–जी विद्रोहको स्मरणमा ‘नदबिने आवाज’ सामूहिक कला संसद भवन अगाडि प्रदर्शनी

211 Shares

काठमाडाैं । गत भदौ २३ गते भएको जेन–जी युवा विद्रोह र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना गरिएको छ।

उक्त प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडिको सडक पेटीमा सञ्चालन भइरहेको छ। प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा समर्पित कृतिहरू, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तयार पारिएका विविध कलाकृति प्रदर्शनमा राखिएका छन्।

भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध सुरु भएको जेन–जी युवा विद्रोहले देशमा व्यापक राजनीतिक परिवर्तन ल्याएको थियो। आन्दोलनका क्रममा दर्जनौँ युवाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए। उक्त आन्दोलनले तत्कालीन सरकार परिवर्तन गर्नसमेत दबाब सिर्जना गरेको थियो।

कलाकारहरूले यस प्रदर्शनीमार्फत आन्दोलनका क्रममा दबिएका युवाहरूका आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन्। प्रदर्शनीमा चित्रकला, मूर्तिकला लगायत विभिन्न विधाका कलाकृतिहरू समेटिएका छन्।

कार्यक्रमले जेन–जी विद्रोहको भावनालाई जीवित राख्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।