एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको भन्दै गम्भीर चेतावनी दिएका छन्। यस्तो गतिविधिले विश्वव्यापी सुरक्षा जोखिम बढाएको उनले बताएका छन्।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै रुसले ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचनामार्फत प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरे।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले युक्रेनले यस्ता गतिविधिको निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकहरूसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने स्पष्ट पारे। रुसले आफ्ना ऊर्जा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बचाउन अस्थायी मालिक र बनावटी कानूनी योजनाहरू प्रयोग गरिरहेको उनको भनाइ छ।
राष्ट्रपति जेलेन्स्कीले यी सबै गतिविधिमाथि कडा नजर राखिएको र रुसलाई युद्धका लागि आवश्यक स्रोत जुटाउन नदिन साझेदार राष्ट्रहरूसँग सहकार्य जारी राखिने पनि बताएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया