जनकपुरमा घना कुहिरो र हुस्सु, जनजीवन प्रभावित: स्थानीय सरकारले ध्यान नदिएको गुनासो

195 Shares

काठमाडौँ / जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा पछिल्ला दिनहरूमा घना कुहिरो र हुस्सुले जनजीवन प्रभावित बनेको छ। बिहानको समयमा दृश्यता अत्यन्त कम हुँदा सवारी साधनको गति सुस्त भएको छ भने सडकमा हेडलाइट बालेर पनि गाडी चलाउन कठिनाइ भइरहेको छ। यसले दुर्घटनाको जोखिम बढाएको छ।

जनकपुर विमानस्थलमा पनि कुहिरोका कारण उडान प्रभावित भएका छन्। यसअघि नै तराईका विभिन्न विमानस्थलहरू (जनकपुर, भैरहवा र सिमरा) खराब मौसमका कारण बन्द भएका थिए।

कुहिरो र हुस्सुले दैनिक कामकाजमा समेत असर पुर्‍याएको छ। विद्यालय, बजार र कार्यालयहरूमा मानिसहरू ढिलो पुग्ने गरेका छन्। चिसो बढेसँगै श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीहरू बढेका अस्पतालहरूले जनाएका छन्। विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरू बढी प्रभावित भएका छन्।

मौसम विज्ञान विभागका अनुसार, तराई क्षेत्रमा कुहिरो र हुस्सु केही दिनसम्म कायम रहने सम्भावना छ। विभागले सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ।

स्थानीयवासीहरू भन्छन्, "चिसोबाट जोगिन स्थानीय सरकारले चोक–चोकमा दाउरा बाल्ने व्यवस्था गर्नुपर्छ। यसले जनजीवन सहज बनाउँछ।" चिसोले बालबालिकालाई विद्यालय जान कठिन भएको छ भने व्यापार–व्यवसाय पनि ठप्प छ।

जनकपुर महानगरपालिकाले यस्ता परिस्थितिमा सहयोगको पहल गर्नुपर्ने स्थानीयको माग रहेको छ।