आज क्रिसमस डे‚ विविध कार्यक्रम गरी मनाइँदै

175 Shares

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मको सम्झनामा आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ। क्रिश्चियन विश्वासअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ का दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव समुदायलाई मुक्ति, प्रेम र शान्ति प्रदान गरेको विश्वास रहेको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए। उनका अनुसार यही विश्वासका आधारमा क्रिश्चियन समुदायले क्रिसमसलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने गर्दछ।

विश्वका धेरै मुलुकमा मनाइने क्रिसमस नेपालमा भने विसं २०६३ पछि महासङ्घको पहलमा महोत्सवका रूपमा मनाउन थालिएको हो। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिँदैछ। कार्यक्रममा सरकारका प्रतिनिधि, विभिन्न सरोकारवाला निकाय, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले जानकारी दिए।

क्रिसमसका अवसरमा नेपालमा सार्वजनिक बिदाको व्यवस्था पनि समयक्रममा परिवर्तन हुँदै आएको छ। विसं २०६३ देखि २०७४ सम्म सबैका लागि सार्वजनिक बिदा दिइएको थियो भने विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो। विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।

पछिल्लो समय नेपालका मुख्य सहरका प्रमुख स्थानहरू क्रिसमस ‘ट्री’ तथा झिलिमिली बत्तीले सजाउने प्रचलन बढ्दो छ। विशेषगरी पर्यटकको बाक्लो आवागमन हुने ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रहरूमा क्रिसमसको रौनक बढी देखिने गरेको छ।

महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्।