छैठाैं टाइगर कपमा १४ टोली सहभागी हुने

197 Shares

काठमाडौं। आगामी माघ ९ गतेदेखि पोखरामा शुरु हुने छैटौं टाइगर कप भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने भएका छन्। टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने यस प्रतियोगितामा यस वर्षदेखि पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपअन्तर्गत आयोजना हुने महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपालका शीर्ष क्लबहरूसँगै थाइल्याण्ड, भारत र माल्दिभ्सका अन्तर्राष्ट्रिय टोलीहरूको पनि सहभागिता रहनेछ।

महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब (थाइल्याण्ड) र थाइल्याण्ड क्वीन्स सहभागी हुनेछन्।

त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब (भारत) ले प्रतिस्पर्धा गर्नेछन्।

यस वर्ष महिला तथा पुरुष दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेता टोलीले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तृतीय हुने टोलीले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने आयोजकले जानकारी दिएको छ।