एजेन्सी। पाकिस्तानमा अज्ञात आतंककारीहरूको गोली प्रहारबाट पाँच जना प्रहरी जवानको मृत्यु भएको छ।
उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मंगलबार बिहान करिब पौने ९ बजे प्रहरीको गाडीलाई लक्षित गरी आक्रमण भएको हो। आक्रमणकारीहरूले अचानक गोली चलाउन थालेपछि प्रहरी र उनीहरूबीच करिब एक घन्टासम्म भीषण झडप भएको स्रोतहरूले बताएका छन्।
झडपका क्रममा गाडीमा सवार रहेका सबै पाँच जना प्रहरी कर्मचारीको मृत्यु भएको जनाइएको छ। प्रहरीले तत्काल जवाफी कारबाही गरे पनि आक्रमणकारीहरू घटनास्थलबाट फरार हुन सफल भएका छन्।
आक्रमणपछि आतंककारीहरूले प्रहरीको गाडीमा आगो लगाएर भागेको बताइएको छ। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
घटनापछि सुरक्षाकर्मीहरूले क्षेत्र घेराबन्दी गर्दै थप खोज तथा अनुसन्धान तीव्र पारेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया