काठमाडौंमा उत्पादित रायो सागमा भेटियो ९९ प्रतिशत विषादी

188 Shares

काठमाडौं । काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ।

बिक्रीका लागि मंगलबार कालीमाटी तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ समूहको विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १५ वटा पसलबाट संकलन गरिएका १५ प्रकारका तरकारी तथा फलफूल परीक्षण गर्दा रायो सागमा अत्यधिक विषादी भेटिएको हो।

विषादीको मात्रा अत्यधिक देखिएपछि उक्त रायो साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य रहेको जनाइएको छ।

सरकारले तोकेको मापदण्डअनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेपछि मात्र उपभोग गर्न सकिने व्यवस्था छ भने ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिने प्रावधान रहेको छ।

यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिँदै आएको थियो।