बंगलादेशमा अर्का विद्यार्थी नेताको गोली हानी हत्या

208 Shares

काठमाडौं । बंगलादेशमा अर्का एक विद्यार्थी नेताको गोली हानी हत्या भएपछि देशमा थप हिंसा भड्किएको छ।

इक्लाव मञ्चका नेता शरीफ उस्मान हादीको हत्या भएको १० दिन नबित्दै नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदर को पनि गोली हानी हत्या गरिएको हो।

गत वर्ष भएको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता समूहमा सक्रिय सिकदरलाई खुलना शहरको सोनाडांगा क्षेत्रमा अज्ञात समूहले गोली हानेको थियो। गम्भीर घाइते अवस्थामा उनलाई खुलना मेडिकल कलेज अस्पताल भर्ना गरिएको भए पनि उपचारकै क्रममा उनको निधन भएको हो।

गत वर्षको विद्यार्थी आन्दोलन सफल भएपछि नेसनलिस्ट सिटिजन पार्टी गठन गरिएको थियो। उक्त पार्टीमा ढाका विश्वविद्यालयसहित विभिन्न क्याम्पसका विद्यार्थीहरू ठूलो संख्यामा आबद्ध रहेका छन्।

प्रत्यक्षदर्शीका अनुसार सोनाडांगा क्षेत्रमा आयोजित चुनावी ¥यालीमा सहभागी भइरहेका बेला सिकदरमाथि टाउकोमा लक्षित गरी गोली प्रहार गरिएको थियो। हालसम्म आक्रमणकारीको पहिचान खुलेको छैन।

लगातार विद्यार्थी नेताहरूको हत्या भएपछि बंगलादेशमा अराजकता थप बढ्ने र आगामी निर्वाचन प्रभावित हुने खतरा बढ्दै गएको विश्लेषकहरूले बताएका छन्।