काठमाडौं । श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि दुई जनाको श्रृंखलाबद्ध हत्या गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा गत मंसिर २३ गते सिन्धुली गोलन्जोर गाउँपालिका–३ का केशवराज हायुको हत्या भएपछि घटनाको अनुसन्धान थालेको प्रहरीले भोलिपल्टै अर्को हत्याको घटनासँग पनि जोडिन पुगेको थियो। मंसिर २४ गते भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई ललितपुरको लाकुरी भञ्ज्याङमा मृत अवस्थामा फेला परेका थिए।
प्रहरी अपराध अनुसन्धान कार्यालयका अनुसार हायु र राई दुवैको हत्या एउटै व्यक्ति र एउटै कारणबाट भएको पुष्टि भएको छ। पत्नीलाई जापान पठाउनका लागि लिएको ऋण तिर्न नसक्दा केशवराज हायुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेल, जो हायुका नाताले बहिनी ज्वाइँ पर्छन्, मुख्य आरोपी हुन्। ढुंगेलले आफ्ना साथी २० वर्षीय जयराम अधिकारीसँग मिलेर हायु र राई दुवैको हत्या गरेको स्वीकार गरेका छन्। ढुंगेलले दुवै मृतकबाट ऋण लिएको खुलेको छ।
लाकुरी भञ्ज्याङमा पारुहाङ राईको शव फेला परेको स्थान र हायुको शव भेटिएको शेरेफाँट एक–अर्काको नजिकै पर्छ। प्रहरीका अनुसार हायुको हत्या सफल भएपछि ऋण दिएका अन्य व्यक्तिलाई पनि मार्नु नै सजिलो हुने ठानी दोस्रो हत्या गरिएको ढुंगेलले बयान दिएका छन्।
हायुको शव यही पुस २ गते फेला परेको थियो। दुवै हत्यामा धारिलो हतियार प्रयोग गरी टाउकोमा प्रहार गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया