देशैभरी १० लाख बढी मतदाता थपिए: निर्वाचन आयोग

209 Shares

काठमाडाैं । निर्वाचन आयोगले देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ।

सोमबार सिंहदरबारमा आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी आयोजित सर्वपक्षीय छलफलमा आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार हाल प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १ सय १४ राजनीतिक दल दर्ता भइसकेका छन्। गत २०७९ सालको निर्वाचनमा भने ८७ दलले मात्र सहभागिता जनाएका थिए।

दलहरूको संख्या उल्लेखनीय रूपमा बढेकाले यसपटक निर्वाचनमा प्रतिस्पर्धा अझ तीव्र हुने अनुमान आयोगले गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

उहाँले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री आयोगले पहिचान गरिसकेको पनि बताउनुभयो। तीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाटै खरिद गर्ने र बाँकी १४ प्रकारका सामग्री निर्वाचन आयोगले केन्द्रीय रूपमा खरिद गरी उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँको भनाइ छ।

प्रवक्ता भट्टराईका अनुसार पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर र कैंचीजस्ता सामग्रीहरू आवश्यकता अनुसार मात्र खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।

निर्वाचनको सहज वातावरण निर्माणका लागि आयोगले सरकार तथा सुरक्षा निकायसँग निरन्तर छलफल र समन्वय गरिरहेको जानकारी पनि प्रवक्ता भट्टराईले दिनुभयो।