कर्मचारी सरुवामै केन्द्रित जेन–जीको सक्रियता

171 Shares

काठमाडौं ।देश गम्भीर संकटको चरणमा रहेको बेला मुलुकलाई सही दिशातर्फ डो¥याउने नीति र रणनीतिमा ध्यान दिनुपर्नेमा केही जेन–जी अभियन्ताहरू कर्मचारी सरुवाका लागि दबाब दिनमै व्यस्त देखिएका छन्। उनीहरूको निरन्तर दबाबका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित अन्य केही मन्त्रालयका सचिव र सहसचिवहरू दिक्क मान्न थालेका छन्।

जेन–जी अभियन्ताहरूले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतदेखि नीति निर्माण तहमा महत्वपूर्ण भूमिका खेल्ने सहसचिवसम्मको सरुवाका लागि मन्त्री र उच्च प्रशासकलाई निरन्तर भेटघाट गर्दै दबाब दिइरहेका छन्। स्रोतका अनुसार केही कर्मचारीहरूले आफ्नै स्वार्थ पूरा गर्न जेन–जीलाई प्रयोग गरी आकर्षक स्थानमा सरुवा गराउने प्रयास गरिरहेका छन्।

केही जेन–जी प्रदेश संयोजकहरूले तराईका विभिन्न गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नुपर्ने मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सूची नै बुझाएको मन्त्रालय स्रोतले जनाएको छ। पछिल्ला दिनहरूमा जेन–जी अभियन्ताहरू मन्त्रालयमा लगातार धाइरहेको बताइन्छ।

मन्त्रालयका एक अधिकृतले नेपाल समाचारपत्रसँग भने, “केही जेन–जी अभियन्ताहरूको अधिकांश समय सामान्य प्रशासन मन्त्रालयमै बित्ने गरेको छ। उनीहरू केही स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवामा अस्वाभाविक चासो देखाउँदै निरन्तर दबाब दिइरहेका छन्।”

यसरी कर्मचारी सरुवामा जेन–जी अभियन्ताहरू सक्रिय रूपमा दौडधुप गर्नुलाई मन्त्रालयका कर्मचारीहरूले आश्चर्यजनक रूपमा लिएका छन्। सामान्य प्रशासनसँगै गृह, भौतिक, ऊर्जा लगायत मन्त्रालयका सचिव र सहसचिवहरूलाई पटक–पटक भेटेर दबाब दिन थालेपछि उनीहरू दिक्दारीमा परेको बताइन्छ। कर्मचारी सरुवामा अझै पनि नातावाद र कृपावाद हाबी हुन थालेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

गत शुक्रबार सरकारले गरेको ६० जना सहसचिवको सरुवामा समेत केहीमा जेन–जीको प्रभाव परेको स्रोतले जनाएको छ। वन तथा वातावरण मन्त्रालयका सहसचिव मिमांश अधिकारीलाई जेन–जीको दबाबमै चार महिनामै मन्त्रालयबाट हटाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको दाबी गरिएको छ। उनको स्थानमा सहसचिव भूपेन्द्र थापालाई ल्याइएको छ।

वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले जेन–जी अभियन्ताहरूको दबाबमा परेर सहसचिव अधिकारीको सरुवा सिफारिस गरेको स्रोतको भनाइ छ। हटाइएका अधिकारी सक्षम सहसचिवको रूपमा परिचित थिए। यसैगरी वन मन्त्रालयको प्रशासन शाखामा कार्यरत उपसचिव शोभाकर रेग्मी पनि जेन–जीकै दबाबमा सरुवा भई उनको स्थानमा प्रेम देवकोटा ल्याइएको बताइएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार केही जेन–जी अभियन्ताहरूले सरुवा भइसकेका प्रमुख जिल्ला अधिकारीको सरुवा रोक्न दबाब दिइरहेका छन् भने केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी आवश्यक भन्दै अनावश्यक दबाब सिर्जना गरिरहेका छन्।

शुक्रबार सरुवा भएका ६० सहसचिवमध्ये केहीले सरुवा रोक्न वा परिवर्तन गराउन दौडधुप थालेका छन्। लगानी बोर्डबाट कोशी प्रदेश सरुवा भएका सहसचिव आस्मान तामाङ उक्त निर्णय उल्ट्याउन सक्रिय भएको बताइएको छ।

तामाङले गृह मन्त्रालयमा सरुवा गराउन ऊर्जा मन्त्री कुलमान घिसिङको सहयोग लिएको स्रोतको दाबी छ। मन्त्री घिसिङले गृहमन्त्रीलाई तामाङलाई गृह मन्त्रालय लैजान दबाब दिएको बुझिएको छ।

स्रोतका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी केही जिल्लामा आफू निकटका सहसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाउने उद्देश्यले मन्त्री घिसिङले आवश्यक गृहकार्य गरिरहेको कर्मचारीहरूको भनाइ छ।
— नेपाल समाचारपत्र