कवाड मजदुरमाथि भइरहेको कुटपिट राेक्न कवाड व्यवसायीहरुको माग

204 Shares

काठमाडौं । कवाड व्यवसायीहरूले कवाड संकलनमा संलग्न मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो माग अघि सारेको हो। समितिले विगत दुई वर्षदेखि काठमाडौं महानगरपालिकाले कवाड व्यवसायी, मजदुर र गरिब वर्गमाथि अन्यायपूर्ण दमन गर्दै आएको आरोप लगाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका प्रतिनिधि ओमप्रकाश सिंहले कवाड व्यवसायीहरूले देशमा सञ्चालित धातुजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको भए पनि महानगरपालिकाबाट निरन्तर दुर्व्यवहार भइरहेको गुनासो गर्नुभयो।

उहाँका अनुसार कवाड व्यवसायले व्यापार घाटा घटाउन, राजस्व संकलन बढाउन तथा वातावरणीय सरसफाइमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। तर त्यसको योगदानको कदर गर्नुको साटो व्यवसायी र मजदुरमाथि दमन भइरहेको उहाँको भनाइ छ।

सिंहले संविधानले सुनिश्चित गरेको व्यवसाय गर्ने अधिकारको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दै कवाड मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तत्काल रोक्न आग्रह गर्नुभयो। साथै, यसमा संलग्न महानगर प्रहरी तथा जिम्मेवार व्यक्तिहरूमाथि कानुनी कारबाही गर्नुपर्ने माग पनि गर्नुभयो।

उहाँले कवाड संकलन मजदुरहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्न तत्काल कदम चाल्न, विस्थापित कवाड व्यवसायीहरूको रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो।

त्यसैगरी, काठमाडौं महानगरपालिकाबाट प्रभावित फुटपाथ व्यवसायी तथा अन्य साना व्यवसायीहरूलाई समेत सहकार्यका लागि आह्वान गर्दै यदि मागहरू तत्काल सम्बोधन नभए जेनजी पुस्तासँग सहकार्य गर्दै आन्दोलनका थप कार्यक्रम अघि बढाइने चेतावनी पनि दिनुभयो।