काठमाडौं । द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भइसके पनि जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउने कार्य नरोकेको आरोप लगाउँदै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरेका छन्।
गुरुङले भदौ २३ र २४ गतेको आन्दोलनका आधारमा पक्राउ परेका तर अझै रिहा हुन नसकेकाहरूका परिवारलाई सिधै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीसँग सम्पर्क गर्न आग्रह गर्दै उनीहरूको मोबाइल नम्बर सार्वजनिक गरेका हुन्।
उनका अनुसार सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको छ र सो सम्बन्धी सम्झौता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। सम्झौतामा आन्दोलनमा सहभागी भएकै कारण कुनै पनि व्यक्तिमाथि फौजदारी मुद्दा नचलाउने स्पष्ट व्यवस्था गरिएको छ।
तर, सोही सम्झौताको विपरीत सरकारले जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई झुटा मुद्दामा फसाएको गुरुङको आरोप छ। भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै जेनजी अभियन्ताहरूसँग सम्झौता गरे पनि सरकारले आफ्नै सहमतिलाई कार्यान्वयन नगरेको उनले बताएका छन्।
गुरुङले सरकारको यो व्यवहारले आन्दोलनप्रति विश्वासघात भएको भन्दै तत्काल पक्राउ परेकाहरूलाई रिहा गर्न र मुद्दा फिर्ता लिन माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया